१५ महिनापछि सारापोभाको शानदार कमब्याक

१३ भदौ, काठमाडौं । प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनमार्फत शानदार पुनरागमन गरेकी छन् ।

१४६ औं बरियातामा रहेकी ३० वर्षीय सारापोभाले उपाधि दावेदार हलेपलाई २-१ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । सारापोभा र हलेपको खेल हेर्न २४ हजार दर्शक उपस्थित थिए ।वाइल्ड कार्डमार्फत युएस ओपन खेल्न पाएकी पूर्व नम्बर एक सारापोभाले पहिलो चरणको खेलमा दोस्रो वरियाताकी सिमोना हलेपलाई पाखा लगाउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।

पहिलो सेट ६-४ ले जितेकी सारापोभाले दोस्रो सेट ४-६ ले गुमाइन् । तर तेस्रो सेटमा ६-३ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन् । सारापोभा सन् २००६ की युएस ओपन च्याम्पियन हुन् ।

यस्तै अर्को खेलमा बेलायती सुन्दरी जोहाना कोन्टा युएसओपनको पहिलो खेलमै पराजित हुँदै बाहिरिएकी छन् । सातौं बरियाताकी कोन्टाले बरियाताबिहीन सर्वियन खेलाडी अलेक्सान्द्रा क्रुनिकसँग २-१ को सेटमा पराजित भइन् । पहिलो खेलमा ६-४ ले जितेपनि त्यसपछिका दुई सेटमा उनी ३-६ र ४-६ ले पराजित भइन् ।

अर्को खेलमा पाचाैं बरियताकी क्यारोलिन वाज्नियाकीले रोमानियाकी मिहाइला बुजामिस्खुलाई दुई शून्यको सेटमा हराइन् । वाज्नियाकीले मिहाइलालाई ६-१ र ७-५ को सेटमा हराइन् ।

यस्तै भेनस विलियम्सले स्लोभाकियाकी भिक्टोरीया कुज्मोभालाई दुई एकको सेटमा हराइन् । विलियमले कज्मोभालाई ६-३, ३-६ र ६-२ को सेटमा पाखा लगाइन् ।

२०७४ भदौ १३ गते १२:५३ मा प्रकाशित

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *