उच्च टिमको ढोकामा गाउँले क्रिकेटर

जेठ दोस्रो साता काठमाडौंमा भएको एकदिवसीय क्रिकेटमा एकमात्र सतक प्रहार गर्ने खेलाडी हुन्, हसिम अन्सारी। करिब तीन वर्षपछि गत जेठमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सतक प्रहार गरेपछि सबैको नजर हसिममै पर्‍यो। सिनियर खेलाडीसमेत सहभागी खेलमा एकमात्र सतक प्रहार गर्ने खेलाडी बनेका हसिमलाई त्यो प्रतियोगिता नै राष्ट्रिय टोलीमा प्रवेशको कडी बन्यो।

नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवादका कारण आईसीसीको निलम्बनमा परेपछि लामो समयपछि भएको एक दिवसीय घरेलु प्रतियोगिता खेल्ने मौका पाएका हसिम धेरै खेलाडीमध्येका एक हुन्। अरु खेलाडीजस्तै हसिमको पनि एउटा सपना थियो, राम्रो प्रदर्शन गरेर सबैको नजर आफूमाथि नै पार्ने। हसिमको त्यो सपना पुरा गरिदियो, एक दिवसीय प्रतियोगिताले नै। एक दिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हसिमका लागि ‘सतक’ प्रहार नै राष्ट्रिय टिममा पर्ने सम्भावनाको मुख्य प्रवेश द्वार बन्यो।

मध्यमाञ्चलबाट प्रतिस्पर्धा गरिरहेका २४ वर्षीय दायाँ हाते ब्याट्स म्यान हसिमले एपीएफविरुद्ध १ सय २४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १०१ रन जोडे, जुन प्रतियोगिताकै एक मात्र सतक थियो।

शतक प्रहार गरेपछि हसिम

शतक प्रहार गरेपछि हसिम

सातौं राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटतर्फको राष्ट्रिय च्याम्पियन तथा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एपीएफविरुद्ध शतक प्रहार गर्नु चानचुने कुरा थिएन र होइन पनि। तर, हसिमले सबै खाले चुनौती पार गर्दै शतक प्रहार गरिछाडे। सतक प्रहार र समग्रमा राम्रो प्रदर्शन गरेका हसिम सबैको नजरमा पर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध खेल्ने राष्ट्रिय टोलीको प्रारम्भीक टोलीको घोषणा गर्दा सूचीमा अटाए। हसिमले क्रिकेट खेल्न थालेको ११ वर्ष भइसक्यो, तर अहिले आएर उनी पहिलोपटक राष्ट्रिय टोलीको नजिक पुगेका छन्।

यसअघि पटक–पटक बन्द प्रशिक्षणमा परेपनि टिममा ब्याट्स म्यान धेरै हुँदा उनी सूचीमा अटाउन सकेका थिएनन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हसिम यसपटक भने राष्ट्रिय टिममा पर्नेमा ढुक्क छन्।  ‘राष्ट्रिय टिमकै लागि लामो समय पर्खिएको छु,’ हसिमले नेपालखबरसँग भने,‘क्याम्पमा पनि निकै मेहेनत गरेको छु। मलाई लाग्छ म यो पटक टिममा पर्छु।’

गाउँबाट सुरु भएको क्रिकेट यात्रा
पर्सामा जन्मिएका हसिम सानैदेखि क्रिकेट खेलबाट प्रभावित थिए। त्यहीबाट क्रिकेट खेल्न सुरु गरेका हुन्, हसिमले।

‘क्रिकेटमा मेरो रुची बाल्यकालदेखि नै अधिक थियो। साथीहरुले क्रिकेट खेल्न बोलाउँदा आफू उत्साहित हुँदै जाने गर्थेँ,‘बाल्यकालको स्मरण गर्दै हसिम भन्छन्,‘दुई कक्षा पढ्दादेखि नै प्लाष्टिकको बल किनेर क्रिकेट खेल्ने गथ्र्यौं। कहिले कसो त स्कुल बंक गरेरै पनि क्रिकेट खेल्न गइन्थ्यो। कतिपटक त्यही निहुँमा सरहरुको पटाई पनि खाइयो।’

हसिम गाउँमा साथीहरुसँग क्रिकेट खेल्दै गर्दा प्रशिक्षकको नजरमा परेका थिए। क्षेत्र नम्बर दुई का प्रशिक्षक रहेका उमेश उपाध्यायले हसिमको खेल हेरेपछि उनलाई आफूसँग प्रशिक्षण लिन आउने असिन हवारीलाई हसिमलाई पनि लिएर आउन भनेका थिए।
‘असिनले म कहाँ आएर गुरुले भोलिदेखि प्रशिक्षणमा बोलाउनुभएको छ भन्यो,’ हसिमले विगत सम्झिँदै भने,‘उसले वाक्य टुंग्याउन नपाउँदै म निकै खुशी हुँदै भनेको थिएँ, सिकेर ठूलो क्रिकेटर बन्छु।’

उपाध्यायले आदर्श नगर मैदानमा प्रशिक्षण गराउँथे। हसिमको घरबाट आर्दश नगर खेल मैदान पुग्न आधा घण्टा नै लाग्थ्यो। प्रशिक्षण लिन विहान झिसमिसेमै दौडिँदै पुग्थे हसिम। हसिम प्रशिक्षणमा सहभागी भएपछि कहिल्यै पनि अनुपस्थित भएनन्, लगनशील भएर सिकिराखे मात्रै।

२०६३ सालमा १७ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुने भयो। क्षेत्र नम्बर २ को क्रिकेट टोली निर्माणका लागि छनोट प्रतियोगिता हँुदै थियो। पर्साबाट जिल्लास्तरिय प्रतियोगिता खेलेका हसिमले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि  क्षेत्रिय टिममा अटाए। त्यसपछि भैरहवामा भएको राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै उनले काठमाडौंविरुद्ध ५३ रन जोडेका थिए। पहिलो राष्ट्रिय प्रतियोगिताको डेब्यु खेलमै अर्धशतक प्रहार गरेपछि हसिममा थप आत्म विश्वास बढ्दै गयो।

२०६४ मा उनले पहिलो पटक वीरगञ्जको टिमबाट सिनियर राष्ट्रिय प्रतियोगिता खेल्ने भए। त्यसवेला वीरगञ्जको टिमको कप्तान विनोद दास थिए भने कनिष्क चौलागार्इँ जस्ता खेलाडीहरु त्यही टिममा थिए।

भर्खरै यु–१७ खेलेर आएका हसिमका लागि सिनियर खेलाडीसँग प्रतियोगिता खेल्न पाउनु सुखद तर, चुनौतीपूर्ण थियो नै। त्यतिमात्रै होइन विनोद दास जस्ता स्टारहरुसँग ड्रेसिङ रुम सेयर गर्नुपर्दा उनी केही नर्भस थिए। ‘विनोद दाइसँगै टिममा खेल्ने मौका पाएकोमा म उत्साहित र नर्भस दुवै थिए, त्यतिबेलाको कुरा सम्झिँदै उनले भने,‘विनोद दाइले तिमीसँग नेचुरल ट्यालेन्ट छ, नर्भस नभईँ खेल भनेपछि ढुक्क भएर खेले।’

२०६५ सालमा पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौंमा हुने भयो। यतिञ्जेल हसिम क्षेत्र नम्बर २ का मुख्य खेलाडी भइसकेका थिए। पूर्वराष्ट्रिय खेलाडी अमिर अख्तरले काठमाडौंमा देशभरिका टोलीलाई निम्त्याएर ‘एम्बेसडर कप’ आयोजना गर्ने भए। त्यतिबेला नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पुबुदु दासानायके थिए। प्रतियोगितामा नेपालगञ्जविरुद्ध हसिमले शतक प्रहार गरे। उनको खेल्ने शैलीबाट प्रभावित भएका पुबुदुले हसिमलाई भेटेरै यु–१९ टोलीको क्याम्पमा बोलाउने बाचा गरे।

पूर्व राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेका साथमा हसिम

पूर्व राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेका साथमा हसिम

पबुदु नेपाल आएपछि पहिलोपटक यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो। युवा एसिया कपमा सहभागी हुने राष्ट्रिय टोलीको छनौटका लागि हुन लागेको प्रतियोगितामा हसिमले त्यसबेला पनि उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगितामा उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याट्स म्यान घोषित भएका हसिम यु–१९ टिमको क्याम्पमा पुगेका थिए।

राष्ट्रिय प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएपछि टिममा पर्नेमा दुई मत थिएन। हसिम पहिलो पटक यु–१९ राष्ट्रिय टिममा पर्न सफल भए।  हसिमलाई माथिल्लो क्रमका ब्याट्स म्यान थिए। तर, त्यतिबेला सुवास खकुरेल, प्रदिप ऐरी जस्ता ब्याट्स म्यान भएकाले उनलाई प्रशिक्षकले तल्लोक्रममा पठाउँथे।

‘म जुनसुकै अर्डरमा पनि खेल्न सक्छु भन्ने कोचलाई लाग्थ्यो,’ उनले भन्छन्, ‘जतिबेला पठाउँदा पनि मैले जिम्मेवारी पुरा गरेरै फर्किन्थ्ये।’ त्यसपछि लगत्तै यु–१९ विश्वकप अष्ट्रेलियामा हुने भयो। क्याम्पमा क्रममा भने हसिम घाइते भएका कारण एक हप्ता आराम गर्नुपर्ने भयो। हसिमका लागि यु–१९ विश्वकप खेल्ने यो पहिलो अवसर थियो। उनलाई यो अवसर गुम्छ कि भन्ने चिन्ता थियो तर, प्रशिक्षक दासानायकेले ठीक भएपछि टिममा फर्कन भनेपछि हसिमको चिन्ता दूर भयो।

प्रशिक्षक दासानायके पनि उनी जतिको प्रतिभावान खेलाडीलाई टिमबाट बाहिर भएको हेर्न चाहदैन थिए। ठीकभएपछि हसिम टोलीमा फर्किए र  विश्व कपमा हसिमले पीएनजीविरुद्धको खेमाल ८३, इंग्ल्याण्डविरुद्ध ३६ रन तथा अष्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गरे भने नामिबियाविरुद्ध प्रदिप ऐरीसँग एक सय भन्दा बढी रनको साझेदारी गरेका थिए।

हसिम आधा दर्जन बढी पटक यु–१९ को बन्द प्रशिक्षणमा परिसकेका छन् भने नेपाल प्रिमियर लिग, धनगढी प्रिमियर लिग तथा एभरेष्ट प्रिमियर लिग खेलिसकेका छन्।

नेपाली क्रिकेट खेलाडीहरुको भविष्यले भने हसिमलाई अरु खेलाडीजस्तै चिन्तित बनाउँछ बेलाबेलामा। ‘क्रिकेट खेलेर मान्छेले त चिन्छन् तर घर व्यवहार चलाउन अझै मुस्किल छ। अहिले डिपीएल, इपिएल जस्ता व्यवसायिक क्रिकेट प्रतियोगिता तथा निजी क्षेत्रको क्रिकेटमा प्रवेशले खेलाडीलाई केही राहत दिएपनि त्यो प्रर्याप्त छैन,’उनी भन्छन्।

‘अन्य मुलुकमा जस्तै खेलाडीको निश्चित पारिश्रमिक वा केही जागिरको व्यवस्था गरिदिए ढुक्क भएर क्रिकेट खेल्ने वातावरण बन्न सक्छ,’ हसिम भन्छन्,‘प्रोत्साहनको अभावमा कति राम्रा प्रतिभावान खेलाडीहरु घरेलु समस्याकै कारण क्रिकेटबाट पलायन हुनुपरेको छ।’

प्रकाशित २ भदौ २०७४, शुक्रबार | 2017-08-18 13:51:34

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *