लडाकु रोबोट निर्माणमा प्रतिबन्ध लगाउन उद्यमीहरुको माग

एक सयभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोटिक्स उद्यमीहरुले युद्धमा प्रयोग हुने रोबोट निर्माणमा विश्वव्यापी प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघसँग माग गरेका छन्। अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको इन्टरनेसनल ज्वाइन्ट कन्फेरेन्स अन आर्टिफिसियल इन्टेलिजेन्समा सोमबार यस्तो आग्रह गरिएको हो।

सो सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी एआइ विशेषज्ञ सामेल हुने आयोजकले बताएको छ।

स्वचालित हतियार निर्माण र विकासलाई तत्काल रोक्न कदम चालिनुपर्ने बताउँदै उनीहरुले संयुक्त राष्ट्रसंघलाई बुझाइने एक पत्रमा हस्ताक्षर गरेका छन्।

प्राविधिक आधुनिकताले युद्धको प्रकृतिलाई बदल्ने र ‘आतंकको हतियार’ निर्माण हुने बताउँदै सो समूहको नेतृत्व टेस्ला तथा स्पेसएक्सका सिइओ एलन मस्कले गरिरहेका छन्।

‘घातक स्वचालित हतियार युद्धकलामा तेस्रो क्रान्ति हुनसक्छ,’ उद्यमीहरुले हस्ताक्षर गरेको वक्तव्यमा उल्लेख छ, ‘एक पटक त्यस्तो हतियार विकसित भइसकेपछि मानिसले सम्हाल्न सक्नेभन्दा ठूलो स्तर र तीव्र गतिमा युद्ध हुनसक्छ।’

उनीहरुले सो प्रविधि गलत व्यक्तिको हातमा पर्न सक्ने पनि चेताएका छन्।

‘यो आतंकको हतियारका रुपमा पनि प्रयोग हुनसक्छ, जसलाई आतंककारीहरुले नागरिकविरुद्ध प्रयोग गर्न सक्छन्। त्यस्तै यसलाई ह्याक गरेर अनिच्छित तरिकाले पनि प्रयोग गर्न सकिन्छ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसपछि त्यसलाई रोक्न हामीसँग सीमित समय मात्र हुनेछ। एक पटक प्यान्डोराको बाकस खोलिएपछि त्यसलाई बन्द गर्न गाह्रो छ।’

मस्कसहित वैज्ञानिक स्टेफेन हकिङले पनि आर्टिफिसियल इन्टेलिजेन्सको खतराबारे चेताउँदै आएका छन्।

केही विशेषज्ञहरुले यस्ता रोबोटका कारण युद्धको सम्भाव्यता बढ्ने बताएका छन्।

‘करिबकरिब सबै प्रविधिलाई असल र खराब तरिकाले प्रयोग गर्न सकिन्छ। एआइ पनि यसभन्दा अलग छैन,’ युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्राध्यापक टोबी वाल्स भन्छन्।

शुक्रबार सम्पन्न हुने सो सम्मेलनमा चीनबाट सबैभन्दा धेरै सहभागी भएका छन्।

यसअघि सन् २०१५ मा पनि अनुसन्धानकर्ताहरुले यस्तै आह्वान गरेका थिए। एजेन्सी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *