जो एकै खेलबाट ३० करोड डलर कमाउँदै छन्

शनिबार राति युएफसी च्याम्पियन कोनर मेकग्रेगरलाई  हराएका अमेरिकी बक्सिङ खेलाडी  फ्लोएड मेवेदर आफ्नो जीवनमा १ अर्ब अमेरिकी डलर कमाउने तेस्रो खेलाडी हुने भएका छन्।

मेवेदर र मेक ग्रेगरको सो भीडन्तको पे पर भ्यू (पैसा तिरेर हेर्ने) मा लगभग ७० करोड डलरसम्म उठ्न सक्ने अनुमान छ।

बक्सिङका ठूला भीडन्तहरू टिभी अथवा इन्टरनेटमा  हेर्न  हरेक चोटी पैसा  तिर्नु पर्ने हुन्छ।  सो  भीडन्तको हेर्न चाहनेको संख्या यति ठूलो भयो कि पे पर भ्यूको सर्भर नै बिग्रिएको थियो।

यसको एकीन रकम आउन अझै केही दिन लाग्नेछ तर विश्लेषकका अनुसार सो भीडन्तले पे पर भ्यूका सबै कीर्तिमान तोड्दै ७० करोड डलर उठाउने अनुमान गरेका छन्। अनुमानित रकम उठेमा मेवेदरले त्यसबाट ३० करोड डलर पाउनेछन्। र उनको खेल जीवनको कमाइ सजिलै १ अर्ब डलरमाथि पुग्नेछ।

यसअघि बास्केटबलका सर्वश्रेष्ठ खेलाडी माइकल जोर्डन र गल्फ खेलाडी टाइगर उड्सले मात्र १ अर्ब डलरभन्दा बढी कमाएका छन्।

यी दुईले खेलको पुरस्कार राशी,  पारिश्रमिक र विज्ञापनबाट अहिलेसम्म डेढ अर्ब डलरभन्दा धेरै कमाइसकेका छन्।

व्यवसायिक खेल जीवनका सबै भीडन्त जितेका ४० वर्षिय मेवेदरले अन्तिम भीडन्त पनि जितेका हुन्। यो उनको ५० औं जित हो। यो जितसँगै खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्।

उनलाई चुनौती दिएका २९ वर्षिय मेकग्रेगरको त्यो पहिलो बक्सिङ भीडन्त थियो। २० वर्षको हुँदा पलम्बरको काम छोडेर मिक्स्ड मार्सल आर्ट्स खेल्न थालेका मेकग्रेगर पछिल्लो समय लोकप्रिय हुँदै गएको सो खेलका सबैभन्दा राम्रा खेलाडी हुन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *